अतुलको सम्झनामा; शोकबाट व्युँतदैछ सुकर्म

हि इज् क्लिनिकल्ली डेड´
ओम नर्सिङ होमको सघन कक्षभित्र कृत्रिम श्वास दिएर राखिएका अतुल गौतमको स्वास्थ्यबारे जानकारी दिंदै डाक्टरले भने– ´अब त चमत्कारै हुनुपर्छ।´ हामी चमत्कारकै प्रतीक्षामा थियौं। अतुलले अब आँखा खोल्लान्, आफैं सास फेर्लान् र जुरुक्क उठेर भन्लान्, ´हैन दाइ ´कन्सर्ट´को तयारी गर्ने होइन?´ उनको आध्यात्मिक स्वभाव, धर्मप्रतिको अगाध आस्था र शात्विक जीवन शैलीले हामीलाई घरिघरि डाक्टरको चिकित्साशास्त्रीय विश्वासमा अविश्वास गर्न प्रेरित गरिरहेको थियो। विश्वास र अविश्वासको घम्साघम्सी पाँच दिन चल्यो। अन्त्यमा हामी पराजित भयौं। अतुललाई निष्ठुरी कालको बाहुपासबाट थुतेर ल्याउन न आधुनिक चिकित्सा सफल भयो, न हाम्रो आध्यात्मिक आस्था। शायद चमत्कार सिनेमा र साहित्यकै पेवा बनिसकेछ?

नेपाली लोक तथा शास्त्रीय संगीतको समिश्रण ´सुकर्म´ को विशेषता हो। एघार वर्षअघि स्थापना भएको सांगीतिक समूह सुकर्ममा तबलावादक थिए अतुल। माघ २ गते उनको निधन भएको चार वर्ष पूरा भयो। माघ ८ गते उनको जन्मजयन्ती पनि पर्छ।

यही सेरोफेरोमा अतुलको स्मृति ताजा पार्न म हालैको एक बिहान सुकर्मका तीनै सदस्य सितारवादक ध्रुवेशचन्द्र रेग्मी, सांरगीवादक श्याम नेपाली र अहिलेका तबलावादक प्रमोद उपाध्यायसँग भेला भएको थिएँ विशालनगरस्थित उनीहरूको रियाज थलोमा, जुन ध्रुवेशको घर पनि हो।
नेपाली लोक तथा शास्त्रीय संगीतमा स्वदेशदेखि विदेशसम्म पहिचान बनाउन सफल भइरहँदा समूहका अग्रणी सदस्य गुमाउनु सुकर्मका लागि सानोतिनो वियोग थिएन। वियोगको आलो घाउ कोट्याउँदा उनीहरूको अनुहार मलिन भएर आउँथ्यो। उनीहरू टोलाउँथे, वाक्यपिच्छे अड्कन्थे, अनि एकले आधा छाडेको वाक्य अर्काले टुंग्याउथे।
*****

२०६१ पुस २४ गते। साँझ धरहरा प्रांगणमा ´कन्सर्ट´ थियो। अतुलसहितको सुकर्मले अन्तिम प्रस्तुति दिएको त्यहीँ हो र अतुलसँगको अन्तिम भेट पनि।

धरहराको सार्वजनिक उद्घाटन भएकाले मन्त्रीहरू पनि आएका थिए। अगाडिको लहर तिनका लागि छुट्टयाइएको थियो। तर उनीहरू संगीतभन्दा आफ्नै गफमा भुलिरहेका थिए। संगीतको अपमान सहन नसक्ने अतुलले तिनलाई घोंच्दै भने, ´संगीतमा शक्ति हुन्छ, हामी यही भन्छौं। संगीतकार भनेका गहना हुन्, हामी यही ठान्छौं। तर यी देखाउने चीजमात्र होइनन्। संगीतकार साँच्चिकै राष्ट्रका गहना हुन्। नेताले जस्तो बोलेरमात्र होइन, आवश्यक पर्दा संगीतकार बाजा बोकेर देशका लागि सशरीर होमिनसक्छन्।´

उनको यस्तो अभिव्यक्तिले मन्त्रीहरूको गाइँगुइँ बन्द भयो। सुकर्मले त्यसपछि ´मेरो देश´ शीर्षकको ´कम्पोजिसन´ सुनाएको थियो। त्यस दिन कार्यक्रम सुरु हुनुअघिदेखि अतुल ´टाउको दुख्यो´ भनिरहेका थिए। तर त्यसलाई न समूहका अरूले गम्भीर रूपमा लिए, न अतुलले नै। ´उनलाई धरहराको कार्यक्रम सकेर कुनै व्यक्तिगत पार्टीमा जानु थियो। उनी त्यता लागे, हामी पनि घर फर्कियौं,´ अतुलसँगको अन्तिम भेट सम्झँदै ध्रुवेशले भने।

´भोलिपल्ट भेट्छु भनेको थिएँ तर के कारणले हो भेट्न गइनँ। सम्भवतः यस्तो हुन्छ भन्ने थाहा पाएको भए गइन्थ्यो,´ उनी त्यसलाई आफ्नो बिराम ठान्दै थक्थकाउँछन्, ´साँझ फोन गर्दा ‌पनि भेट भएन। भाउज्यू (अतुलकी श्रीमति) सँगमात्र कुरा भयो, उनी टाउको दुखेर जँचाउन गएका रहेछन्।´ अतुल साँझ ७ बजे सामान्य अवस्थामा घर फर्किए। डाक्टरले ´अहिलेको फ्लु हो, केही दिनमा ठीक हुन्छ´ भनेर औषधि लेखिदिएछन्। टाइफाइड पनि हुनसक्छ भन्ने आशंकाले रगत परीक्षण गर्नधरी दिइएको रहेछ। तर घर फर्केको केही बेरमै एकोहोरो सास चल्न थालेपछि उनलाई फेरि अस्पताल लगियो।

´डाक्टरहरूले स्थिति गम्भीर छ, भेन्टिलेटरमा राख्नुपर्छ भनेछन्। भाउज्यूले बिहान ५ बजे आत्तिंदै फोन गरेर डाक्नुभो,´ ध्रुवेशले भने।  हामी अस्पताल पुग्दा उनलाई भेन्टिलेटरमा कृत्रिम श्वास दिएर राखिएको थियो। मिड आर्टिलरी ब्रेन फुटेको रहेछ। डाक्टरले भने, ´यो एक किसिमको ब्रेन हमरेज हो। हि इज क्लिनिकल्ली डेड। अब त चमत्कारै हुनुपर्छ।´ हामी पाँच दिन चमत्कारकै प्रतीक्षा गरिरह्यौं।´

*****

´अतुलको मृत्युपछि सुकर्मले के गुमायो?´

´अतुल गुमायौं,´ ध्रुवेशको मुखबाट फुत्त निस्कियो तर अर्को वाक्य फुटेन। उनको मौनता श्यामले तोडे, ´अतुलको ´चार्मिङ पर्सनालिटी´, दर्शकहरूलाई वशमा राख्दै संवाद गर्ने शैली हामीले गुमायौं।´
अतुलजति बजाउने मान्छे अरू पनि छन् तर स्टेजमा उनको जस्तो समर्पण हुन्छ, दर्शकलाई उनीबाहेक त्यहाँ कोही छैन भन्ने भान पर्छ,´ श्यामको वाक्यलाई निरन्तरता दिंदै ध्रुवेशले आफ्नो टुटेको भनाइ अघि बढाए।

´दर्शकसँगको ´कनेक्टिङ पावर´ एकदमै बढी थियो उनमा। धर्मको कुरा थाल्दा साक्षात् शिद्ध पुरुषजस्ता लाग्थे। व्यवहार कस्तो भने, जसलाई पनि घनिष्ठ बनाइहाल्ने। उनी स्टेजमा बोल्दा दर्शक मन्त्रमुग्ध भएर सुनिरहन्थे।´

*****

ध्रुवेश, अतुल र श्यामले सुकर्मको थालनी गरेको २०५४ सालमा हो। त्यसअघि ध्रुवेश र अतुल बरिष्ठ तबलावादक पण्डित होमनाथ उपाध्यायको ´प्रस्तार´ समूहमा थिए। यो समूह बढी शास्त्रीय प्रकृतिको थियो। तर उनीहरू शास्त्रीय संगीतलाई सीमित दायराभित्र खुम्च्याउनुको सट्टा परिमार्जन गर्नसके बढी श्रोतासम्म पुग्ने विश्वास राख्थे। समय सुहाउँदो परिमार्जन नगरे शास्त्रीय संगीत भजन–कीर्तनमा सीमित हुने डर थियो। संसारका सबैखाले संगीतको उद्गम शास्त्रीय भएकाले परिमार्जन असम्भव थिएन।

यसबीच उनीहरूको विभिन्न समारोहमा श्यामसँग भेट भइरहन्थ्यो। हरेक भेटमा एकअर्काप्रतिको आकर्षण बढ्दै गयो। ´श्यामको सारंगी सुनेपछि हामीलाई लोभ लाग्यो,´ सुकर्म गठनका दिनतिर फर्कंदै ध्रुवेशले भने, ´यो बाजा र यो मान्छेसँग काम गर्न पाए धेरै राम्रो हुन्छ। हामीलाई यस्तै लागिरहन्थ्यो। उनको पनि त्यस्तै सोचाइ रहेछ।´ छेवै बसेका श्यामले सही थापे। ´हामी तीनैजना केही भिन्न र नयाँ गर्न चाहन्थ्यौं। हामी आफ्नो शास्त्रीय धार कायम राख्दै यसमा अलि सुगमता देखियोस्, आधुनिकता देखियोस्, लोक भाका होस् र पश्चिमी शैली पनि आओस् भन्ने चाहन्थ्यौं,´ श्यामले आफ्नो धारणा पोखे।

त्यतिखेर ठमेलमा श्यामको ´क्युरियो´ पसल थियो। एक दिन ध्रुवेश र अतुल रेकर्डिङको सिलसिलामा त्यहाँ पुगेका थिए। त्यही दिन तीनजनाको गठबन्धनबाट नयाँ समूह थालनीको बीउ रोपियो, नाउँ रह्यो ´सुकर्म´। ´अनि नाउँपछाडि हालिएको ´नेपाली लोक तथा शास्त्रीय संगीतको पुनःपरिभाषा´ भन्ने फुर्कोचाहिँ किन नि?´

शास्त्रीय र लोक संगीत दुवै हाम्रा सांस्कृतिक धरोहर हुन्,´ ध्रुवेशले अर्थ खुलाए, ´यी दुवैलाई साथसाथै लिएर अघि बढ्नुपर्छ भनेर शास्त्रीय र लोकमा आधारित नयाँ धार समात्यौं।´ उनका भनाइमा लोक भाकाले मान्छेको दिमागमा तुरुन्त असर गर्छ र शास्त्रीय धुन मिसाउँदा त्यसले ´विशिष्ट स्वाद´ दिन्छ।

हुन पनि यो ´विशिष्ट स्वाद´ स्वदेशीदेखि विदेशी श्रोतासम्मले यस्तरी मन पराइदिए सुकर्मले त्यसपछि कहिल्यै पछाडि फर्कनुपरेन। तीनैजनाले छुट्टाछुट्टै हासिल गर्न नसकेको प्रतिष्ठा सुकर्मले दिलाएको उनीहरूको ठहर छ। २०५८ पछि त समूह हरेक वर्ष सांगीतिक यात्रामा देशभित्र–बाहिर कुदिरहेको छ। सफलताको यो रफ्तारमा एकैचोटि झट्का लाग्यो २०६१ माघ २ गते अतुलको देहावसानले।

*****

त्यतिखेर सुकर्म धरहराको कन्सर्टपछि दोस्रो ´म्युजिक फर पिस एन्ड हार्मोनी´ कार्यक्रम गर्ने तयारीमा थियो। विराटनगर, नेपालगञ्ज, पोखरा र काठमाडौंमा भएको पहिलो कार्यक्रमपछि उनीहरूले दोस्रो खेपमा जनकपुर, नारायणघाट, बुटवल र दाङ जाने सूर कसेका थिए। प्रायोजकसमेत जुटिसकेको थियो तर अन्तिम समयमा अग्रणी सदस्यसँगको वियोगपछि कार्यक्रम भताभुंग भयो।

यतिमात्र होइन, समूहले काम गरिरहेका तीन एल्बम– माउन्टेन मन्त्र, डिभाइन पाथ र मेरो देश– समयमा पूरा हुन सकेन। युरोप भ्रमणको कार्यक्रम अलपत्र पर्यो। म्युजिक फर पिस एन्ड हार्मोनीको दोस्रो चरण त कहिले हुनै पाएन, सूचीमा रहेका बाँकी दुई योजनाका लागि अतुलको ठाउँमा सुकर्ममा उदाए समूहभित्रकै पुराना सहयोगी प्रमोद उपाध्याय।

*****

२०६१ माघ २ गते प्रमोद भारतको मुम्बईमा थिए घरायसी कामले। त्यतिखेर उनी सुकर्मसँग जुडिसकेका थिए संगीत ´एरेञ्जमेन्ट र कम्पोजिसन´ को सहयोगीका रूपमा। अस्थायी सदस्य रहेका प्रमोदलाई काम गर्दै जाँदा कुन बेला स्थायी सदस्य बनियो भन्ने मेसो छैन।

´पहिला म रेकर्डिङका बेलामात्र बढी सशक्त हुन्थे। अतुलको निधनपछि अग्रस्थानमा को बस्छ स्पष्ट थिएन,´ उनले भने, ´एकदमै नाम चलेको मान्छेका ठाउँमा जो पायो त्यहीलाई राख्ने कुरा आउँदैन। उनको व्यक्तित्व र प्रस्तुतिका अगाडि म पनि जो पाए त्यहीमा पर्थें त्यतिबेला।´

हाम्रो कुराकानी सुकर्मको अग्रस्थानमा प्रमोदको प्रवेशतिर मोडिएको थियो। ´मैले समूहमा बस्छु भनेर सोंचेकै थिइनँ, कहिले भन्दा पनि भनिनँ,´ उनी भन्दै थिए, ´मुम्बईबाट फर्केपछि बिहानबिहान रियाजमा आउँथे। कहिले गएर समूहको स्थायी सदस्य बनियो हेक्का छैन। कसैले सोध्यो भने म मितिसम्म भन्नँ सक्दिनँ।´

´फ्युजन भनेको यस्तै हुँदोरहेछ,´ ध्रुवेशले थपे, ´पहिलेदेखि काम गर्दै आएकाले एउटा सहज वातावरण थियो हामीबीच। समझदारी थियो। हामीले सोंच्यौं प्रमोद अतुलको ठाउँमा बसे राम्रो हुन्छ। दुवै पक्षकोमिटिङ प्वाइन्ट´ एउटै भयो।´ श्यामका विचारमा यसमा भावनात्मक सम्बन्धले काम गरेको छ। ´प्रमोद भावनात्मक हिसाबले सुकर्मलाई माया गर्ने व्यक्ति हो,´ उनले भने, ´अतुलको भावना पनि बुझेको थियो प्रमोदले। उसको काम गर्ने तौरतरिका थाहा थियो।´

त्यसो त अतुल र प्रमोद दुवैले गुरू होमनाथबाटै संगीत शिक्षा लिएका हुन्, जो प्रमोदका बुबा हुन्। स्रोत एउटै भएकाले सीप पनि करिबकरिब समान भएको ध्रुवेश र श्यामको ठम्याइ छ। अतुलको ठाउँ लिनु कत्तिको चुनौतीपूर्ण रह्यो त यी ३४ वर्षे तबलवादकलाई?

´निकै नै,´ विश्वप्रसिद्ध भारतीय तबलावादक जाकिर हुसेनका चेलासमेत रहेका प्रमोदले भने, ´उनको जस्तो प्रस्तुति धेरै कमको हुन्छ। बजाउने शैलीमात्र होइन, दर्शकलाई मन्त्रमुग्ध पार्ने अनौठो खालको क्षमता थियो उनमा। मैले त्यही उतार्नु एकदमै कठिन थियो। फेरि जस्ताको तस्तै उतार्दा नक्कल गरेजस्तो देखिने, त्यसैले आफ्नो विशेषता दिने र उनको पनि लिने प्रयास गरिरहेको छु।´

´उनको ठाउँ लिन त कसैले सक्दैन। मेरो प्रयास भनेको सुकर्मले बनाएको स्तर तल झर्न नदिनु हो,´ उनले आफ्नो भूमिका ठम्याए।

अतुलले अधूरो छाडेका तीन एल्बम पूरा गरेर प्रमोदले समूहभित्र र दर्शकका आँखामा आफूलाई उतारिसकेका छन्। अहिले उनीहरू थप तीन एल्बमका लागि कस्सिएका छन्, जसमा पूर्वीय र पश्चिमी संगीतको फ्युजन हुनेछ।

अतुलको चाहना पनि यही थियो, पूर्वीय र पश्चिमी संगीतको मिश्रणबाट अलग्गै धुन सिर्जना गर्ने, जसले नेपाली संगीत र संगीतकारका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुला गरोस्। अतुल जहाँ भए पनि सुकर्मको यो सफलता देखेर खुशी हुनेछन्।

सुदीप श्रेष्ठ काठमाडौं, माघ ९ (2009-01-22 18:38:58) sudeep@dainikee.com